फिल्म । विजय बराल र केकी अधिकारीलाई लिएर नयाँ सामाजिक तथा भावनात्मक फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ निर्माण भएको छ, जुन भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्मका निर्देशक हिमाल न्यौपानेका अनुसार, कमेडीको ट्रेन्डबाट बाहिर निस्केर दर्शकले आफ्नै जीवन र भोगाइसँग जोडिएका कथाहरू खोज्न थालेका छन्। यही यथार्थलाई पर्दामा उतार्न यो फिल्म बनेको हो।
‘हामीले आम नेपालीको वास्तविक समस्यालाई फिल्ममा देखाउने प्रयास गरेका छौँ, भर्खरै सार्वजनिक गीतले पनि प्रष्ट पार्छ, एउटा छोराले आफ्नी आमालाई खुसी दिन गर्ने सङ्घर्ष र त्यसपछिको परिस्थितिलाई फिल्मले केलाएको छ । आर्थिक रूपमा खुम्चिएर सानो भएको छोराको ठूलो मन ‘जनै हराएको मान्छे’मा देख्न पाइनेछ’, निर्देशक न्यौपानेले बताए ।
निर्देशकका अनुसार, फिल्म रुमानी कल्पनाको संसारभन्दा यथार्थ घटनाहरूको नजिक छ र यसले निम्न तथा मध्यमवर्गीय नेपाली परिवारको कथा भन्छ । निर्माण टिमले विजयलाई ‘एपिक नेचुरल स्टार’ को ट्याग दिएको छ । यसमा विजय र केकीसँगै मिरुना मगर, गौरव पहाडी, सुशान्त मैनाली, भोलाराज सापकोटा, रियर राई लगायतको अभिनय रहेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको फिल्म पेपरक्लिप प्रोडक्सन हाउसबाट निर्माण भएको हो । कमल न्यौपाने र विमल न्यौपानेको लगानमा तयार भएको फिल्मको कथा/पटकथा/संवाद भानुभक्त ढकालले लेखेका हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी, प्रशान्त सिवाकोटीको सङ्गीत रहेको फिल्मले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको छ ।











