गसिप । नेपाली फिल्मका अभिनेत्री धमाधम विवाह गरिरहेका छिन्। ऋचा शर्मा, आँचल शर्मा अनि प्रियंका कार्की पालैसँग विवाह बन्धनमा बाँधिइसकेका छन् । यी सबै अभिनेत्री अभिनयमा थुप्रै भोटा फटाइसकेपछि वैवाहिक जीवनमा प्रवेश गरेका हुन् । तर, ‘लभ डायरिज’ डेब्यू अभिनेत्री रुबिना थापा भने विवाहपछि अभिनयमा आएकी छिन् । फिल्म रिलिजअघि उनको विवाहको गाँइगुँइ सुनिए पनि कन्फर्म भएको थिएन। तर, रुबिना स्वयंले यसको पुष्टि गरेकी छिन् ।
बलिउडतिर हिरोइनको बिहे हुनु भनेको अभिनयबाट लगभग पाखा लाग्नु हो । तर, नेपालमा बिहे गरेकै हिरोइनले लामो समय रजगज गरेको इतिहास छ। करिश्मा मानन्धर, गौरी मल्ल, मौसमी मल्ल, झरना थापा, बिना बुढाथोकी आदिले बिहेपछि नै अभिनयमा सफलता पाएका थिए ।
रुबिना पनि अग्रज अभिनेत्रीको यही सफलता दोहोर्याउने ध्याउन्नमा छिन् । त्यसैले विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने उनको सोच छ। तर, सोच हुनु र सफलता पाउनु फरक कुरा हो। अघिल्लो साल डेब्यू गरेका थुपै्र अभिनेत्री फिल्म नपाएर बेरोजगार छन्। यस्तोमा विवाहित रुबिनालाई काम पाउन मुश्किलै देखिन्छ । (सम्पूर्ण साप्ताहिकबाट साभार)










