फिल्म । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’ मा नेपाली फिल्मका लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल फेरि एकसाथ देखिने भएका छन् । यी दुई कलाकार पर्दामा मात्र होइन, बाहिर पनि दर्शकमाझ उत्तिकै रुचाइएका मानिन्छन्। दयाहाङ र सौगात नेपाली फिल्ममा सर्वाधिक व्यस्त र स्थापित अभिनेतामध्ये पर्छन्। दर्शकको मायाकै कारण उनीहरू निर्माताको रोजाइमा पर्ने र लगातार मुख्य भूमिकामा देखिने गरेका छन्।
फिल्म ‘मितज्यू’मार्फत उनीहरूको जोडी पुनः एकपटक दर्शकमाझ आउन लागेको हो। प्रायः फिल्ममा नायक-नायिकाको जोडी चर्चामा रहने भए पनि दयाहाङ र सौगातको जोडीलाई पनि सफल मानिन्छ। उनीहरूले सँगै अभिनय गरेका केही फिल्म बक्सअफिसमा सफल भएका छन्।
‘लुट’बाट सुरु भएको यो सहकार्य ‘कबड्डी’सम्म आइपुग्दा निकै लोकप्रिय बन्यो। निर्माण टिमका अनुसार सोही सफलतालाई निरन्तरता दिँदै ‘मितज्यू’ पनि सफल हुने अपेक्षा गरिएको छ।
फिल्मको पोस्टर र टिजरमा दयाहाङ र सौगातबीच नोकझोक र द्वन्द्व देखिएको छ। सँगै रहने तर सहज सम्बन्ध नरहने पात्रमा उनीहरू प्रस्तुत भएका छन्। यसअघि ‘लुट’ र ‘कबड्डी’मा पनि यी दुईबीचको द्वन्द्व दर्शकले रुचाएका थिए।
निर्माता जनक घर्ती मगरका अनुसार फिल्ममा प्रस्तुत गरिएको द्वन्द्व र पात्रको स्वरूप दर्शकलाई मनोरञ्जन दिने खालको हुनेछ। “दयाहाङ र सौगातको जोडीलाई दर्शकले मन पराउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्म ‘मितज्यू’मा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ। तेरिया फौजा मगरको यो डेब्यु फिल्म हो।
लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।












