‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक

फिल्म । आगामी श्रावण १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ। यसका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो।

डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’को रूपमा देखाइएको छ । उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन् । उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको अवस्थामा छन् भने नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन् । पोस्टरको विश्लेषण गर्दा उनलाई एक्सन अवतारमा ‘मोदीबेनी’मा देख्न पाइनेछ ।

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । उनी पनि कुनै पहाडी इलाकामा उभिएकी छन् । उनको पछाडि उकालो बाटो छ । उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन् । यसमा वर्षा अमरको जोडीको रूपमा अभिनय गरेको भएता पनि पोस्टर भने अलग अलग सार्वजनिक गरिएको छ ।

‘मोदीबेनी’का निर्देशक शङ्कर कोइरालाले फिल्मको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए । उनले यसमा अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको खुलासा गरे । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए ।

यसमा अमर र वर्षा सहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् ।

यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ । रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्