‘यानी माया’ मा अञ्जना

फिल्म । अभिनेता पल शाह को ब्यानर ‘पल शाह फिल्म्स’ को पहिलो प्रोजेक्ट ‘यानी माया’ मा अञ्जना पुन ले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यस फिल्मबाट डेब्यु गर्दैछिन् । अञ्जना एक स्थापित मोडेल हुन् । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितिसकेकी छिन् । सन् २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल ह्याप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् ।

मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन् । उनले ‘बधाई तिमीलाई’, ‘न छोएर यौवन काटियो’, ‘मायालाई पाको पात’, ‘आगो लाग्यो’, ‘१००% सही हो’, र ‘आँखैले बोलन’ जस्ता गीतहरूमा अभिनय गरिसकेकी छिन् । यीमध्ये केही गीतमा उनले पल शाहसँग पनि काम गरेकी थिइन् । अञ्जना क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडर पनि हुन् ।

विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो फिल्म दार्शनिक मेटामोडर्न फिल्म र पारिवारिक ड्रामाको संयोजन हुनेछ । यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिनेछ । यो फिल्म श्रावण महिनामा छायांकनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन् ।

पल शाहका लागि यो फिल्म निर्माण क्षेत्रमा उनको पहिलो कदम हो भने विकास सुवेदीका लागि पनि लेखकबाट निर्देशक बनेको यो पहिलो प्रयास हो । यस फिल्मका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन् ।

कमेन्ट गर्नुहोस्