टिभी । हिमालयन रोडिजको तेस्रो सिजन सुरु हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो सिजनको बारेमा जानकारी दिइएको हो । एड्भेन्चर रियालिटी शो हिमालयन रोडिजले यस अघि दुई सिजन सफलता पूर्वक समापन गरिसकेको छ । युवा पुस्तामा लोकप्रिय यस रियालिटी शो सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमन प्रताप अधिकारीले बताए ।
‘ हामीले सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौँ’ उनले भने,’ प्रतिष्पर्धीमात्र नभएर ग्याङ लिडर पनि चूतौतीपूर्ण रुपमा खेलमा सहभागी हुनेछन् ।’ पहिलो र दोस्रो सिजनमा तीन जना जज थिए । तर, यस सिजनमा भने चार जना टिम लिडर रहेका छन् । पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्नेछन् ।
ग्याङ लिडरमा भने दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्के रहेका छन् भने , नयाँ ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही रहेका छन् । अनुप र समन थपिएका हुन् । यस वर्षको लागि ५ शहरमा अडिसन गर्ने बताइएको छ । भदौ २८ गते धरानबाट अडिसन सुरु हुनेछ । भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा अडिसन हुनेछ ।










