फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाकको जीवनीमा आधारित रहेर तयार गरिएको नेपाली फिल्म ‘अञ्जिला’ होली अर्थात फागुन २९ देखि प्रदर्शन हुँदैछ । प्रदर्शनको पूर्व सन्ध्यामा कप्तान सुब्बाले भिडिओ संदेश पठाउँदै फिल्म हेर्न आग्रह गरेकी छिन् । उनले यो फिल्म आफ्नो सफलता देखाउन भन्दा पनि सङ्घर्ष देखाउन तयार गरिएको बताइन ।
‘फिल्म बनाउनेको उदेश्य नै एउटा महिला भएर सफलता पाउन के कती सङ्घर्ष गर्नुपर्छ भन्ने देखाउन हो । यो मेरो मात्र नभई हरेक महिलाको सङ्घर्षको कथा हो जस्तो लागेको छ । तपाइले एक पटक हलमै गएर हेरेर प्रतिक्रिया दिनुहोला, म पनि तपाईसँग फिल्म हेर्न आतुर छु तर खेलका कारण ग्रीसमा भएकाले त्यो सकिरहेको छौँ’, कप्तान सुब्बाले भनिन् ।
उनले खेल तालिकाबाट विश्राम मिलेमा आफू नेपाल आएर दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिने बताइन । उनले भिडिओ संदेशमा अन्य खेलाडीको कथालाई फिल्ममा ल्याउन पनि ‘अञ्जिला’ हेर्न आग्रह गरेकी छिन् । गत सोमबार गरिएको प्रिमियरमार्फत आएको प्रतिक्रियाले फिल्मलाई अधिकाँस मल्टिप्लेक्स हलले प्राथमिकतामा राख्दै शो दिएका छन् । नेपाल प्रिमियर हेरेपछि सेलिब्रेटी, खेलाडी र पत्रकारले दिएको प्रतिक्रियाले फिल्म प्रति दर्शकको उत्साह बढेको छ ।
खेलाडीको विषय फिल्ममार्फत आम मानिससम्म पुग्नु खुसीको खबर रहेको बताउदै निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ लगायतलाई खेलाडी तथा फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत बधाई दिईरहेका छन् ।
फिल्ममा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता कथा देखाईएको निर्देशक चाम्सले बताए । फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए । ‘
कप्तान सुब्बाका धर्मपिता तथा फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न फिल्मले प्रेरणा दिन्छ बताए । फिल्ममा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्म यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।