फिल्म । नेपाली फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मका दुई फरक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ ।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ ।
विश्वराम बिष्ट प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेकी छन् भने भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सह–निर्माताका रूपमा रहेका छन्। सुप्रिम म्युजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका कलाकारहरूलाई समेटिएको छ ।
लेखक तथा निर्देशक उप्रेतीका अनुसार फिल्मले लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनका नैतिक संकटहरूलाई चित्रण गर्नेछ । यसको कथा काठमाडौंको ऐतिहासिक तथा परम्परागत नेवार बस्ती बुङमती र बागमती नदी आसपासको परिवेशमा केन्द्रित छ ।
फिल्मका प्रस्तुतकर्ता विश्वराम बिष्टका अनुसार फिल्मले बुङमतीको प्राचीन सभ्यता, नेवारी कला-संस्कृति तथा त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्रीलगायत विभिन्न समुदायबीचको सहअस्तित्वलाई उजागर गर्नेछ। साथै, परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई पनि फिल्ममार्फत प्रस्तुत गरिनेछ ।फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ।










