‘लज्जावती’का क्यारेक्टर पोस्टर सार्वजनिक

फिल्म । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’का विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ पाँच पोस्टर सार्वजनिक गर्दै फिल्मका प्रमुख पात्रहरूको परिचय गराएको हो।

सार्वजनिक पोस्टरहरूमा फिल्मका मुख्य कलाकारहरूको फरक–फरक लुक्स प्रस्तुत गरिएको छ। पोस्टरहरूले पात्रहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेशलाई चित्रण गरेका छन्।

एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्। यसले फिल्ममा प्रेमकथाले महत्वपूर्ण स्थान ओगटेको संकेत गर्छ। अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको देखिन्छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि साथमा छन्। उक्त पोस्टरले फिल्ममा पारिवारिक सम्बन्ध, हास्य र भावनात्मक पक्षलाई समेत समेटिएको संकेत दिएको छ।

अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण निरौला र मेनुका माझीसँग मुकुन भुसाल गम्भीर भावमा प्रस्तुत भएका छन्। पोस्टरको पृष्ठभूमिमा ग्रामीण तथा सहरी परिवेश दुवै देखिएकाले फिल्मको कथा विभिन्न सामाजिक परिवेशमा आधारित रहेको अनुमान गर्न सकिन्छ।

सार्वजनिक पोस्टरमार्फत निर्माण टिमले फिल्मको प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुलाई उजागर गर्ने प्रयास गरेको छ। निर्माण पक्षका अनुसार फिल्मले प्रेमसँगै समाजका विविध आयामलाई समेट्नेछ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। फिल्ममा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।

सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ भने कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

कमेन्ट गर्नुहोस्