‘मेरो आफ्नै संसार’ सार्वजनिक

सङ्गीत । नेपाली सांगीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । सर्जक शंकर पाण्डे ‘मुक्ति’को प्रस्तुति रहेको उक्त गीत बिहीबार मानव सेवा आश्रममा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।

गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । गीतका शब्द स्वयं ‘मुक्ति’ले लेख्नुभएको हो भने चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेको गीतमा आधुनिक संगीत र भावनात्मक शब्द संयोजनले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ ।

सार्वजनिक गीतको भिडियो निर्देशक माधवराज खरेलले तयार गर्नुभएको हो । भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । भिडियोमा कलाकार दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाललगायतको अभिनय रहेको छ । साथै बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियोलाई अझ जीवन्त बनाएको छ ।

भिडियोको छायांकन अजय रेग्मीले गर्नुभएको हो भने सम्पादन विनोद बमले गर्नुभएको छ । सरिता मगरको श्रृंगारले कलाकारहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेको छ । भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, अभिनय र कथावस्तुले दर्शकलाई भावुक बनाउने क्षमता राख्ने प्रतिक्रिया कार्यक्रममा सहभागीहरूले दिएका थिए ।

कार्यक्रममा बोल्दै शंकर पाण्डे ‘मुक्ति’ले गीत केवल मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताउनुभयो । उहाँले भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै कला र मानवीय सेवाबीचको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको धारणा राख्नुभयो ।

कमेन्ट गर्नुहोस्