‘मनाङ्गे’ बन्ने

फिल्म । पछिल्लो समय बलिउडमा बायोपिक फिल्म बन्ने लहर नै चलेको छ । तर , नेपालमा यस्तो छैन । बजार विस्तार नहुनु र दर्शकले ड्रामा नै रुचाउनुले मेकरलाई बायोपिकमा उत्साहित गर्न सकेको छैन । केहि फाटफुट बनेपनि त्यसले दर्शकको राम्रो साथ पाएका छैनन् । अब, प्रदेश ४ का प्रदेशसभा सदस्य तथा गुन्डा नाइकेको रुपमा परिचित दीपक मनाङ्गेको जीवनमाथि बायोपिक फिल्म बन्ने भएको छ ।

यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पोई पर्‍यो काले’ का निर्माताद्वय किरण नेपाली र अमलादेवी राईले दीपक मनाङ्गेको जीवनमा आधारित भएर फिल्म बनाउन लागेको हुन् । निर्माण टिमले चलचित्र विकास बोर्डमा ‘मनाङ्गे’ नाममा फिल्म दर्ता गरेको छ । जमन बिष्टले फिल्मको निर्देशन गर्नेछन् ।

अहिले फिल्मको कथा निर्देशक बिष्ट स्वयंले लेखिरहेका छन् । दीपक मनाङ्गेको जीवनमा आएको उतार-चढावमा केन्द्रित भएर फिल्म बन्नेछ । फिल्म ‘पोई पर्‍यो काले’ का निर्माता समेत रहेका दीपक मनाङ्गेले यसअघि ‘वान वे’ फिल्म पनि बनाएका थिए । जसबाट उनका छोरा सिद्धार्थले अभिनयमा डेब्यू गरेका थिए ।‘मनाङ्गे’ का लागि अहिले लिड कास्टको खोजी भइरहेको निर्माता नेपालीले बताएका छन् । दीपकको डनदेखि सांसदसम्मको यात्रालाई फिल्ममा देखाइनेछ ।

कमेन्ट गर्नुहोस्