‘मोहर’ फिल्म हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

फिल्म । गत साउन २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै वर्षकै दोस्रो हिट फिल्मको रूपमा आफ्नो स्थान बनाएको छ । हालसम्म ५ करोडभन्दा माथिको व्यापार गरिसकेको यो फिल्म अझै हलहरूमा प्रदर्शनरत छ । फिल्मको निर्माण पक्षले रिलिजको एक महिनापछि दर्शकहरूका लागि ‘सुनको मोहर’ जित्ने विशेष अवसर ल्याएको छ ।

देशका चार हलमा फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’मा फिल्म हेर्ने दर्शक यो योजनामा सहभागी हुन सक्नेछन् । पुरस्कार योजनाअन्तर्गत म्याङ्गो जन ज्योती सिनेमामा फिल्म हेर्नेमध्येबाट ३ जना, क्यूएफएक्स स्क्वायर मलमा हेर्नेमध्येबाट २ जना, कीर्तिपुर सिनेप्लेक्समा हेर्नेमध्येबाट २ जना र रञ्जना सिनेप्लेक्समा हेर्नेमध्येबाट २ जना गरी कुल ९ जनाले ‘सुनको मोहर’ जित्नेछन् ।

सहभागिताका लागि दर्शकले फिल्मको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा टिकट खसाल्नुपर्नेछ । यो योजना भदौ २३ गतेदेखि असोज ११ गतेसम्म फिल्म हेर्ने दर्शकका लागि लागू हुनेछ । भदौ २३ गते अघि फिल्म हेरेका दर्शकले पनि टिकट सुरक्षित राखेको खण्डमा यो योजनामा सहभागी हुन सक्ने निर्माण पक्षले जनाएको छ ।

विजेताहरूलाई फिल्मको ५१औँ दिनको विशेष कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिनेछ । ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको यो फिल्म चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय छ । फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको यो फिल्मले दर्शकको मन जित्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्