फिल्म । नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बाकस’मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्माण टिमले आइतबार महेशसँग औपचारिक सम्झौता गरेको हो ।
महेशको प्रवेशसँगै फिल्मको मुख्य कलाकारको टोली थप बलियो बनेको छ । यसअघि अभिनेत्री विपना थापा र वर्षा राउत ‘बाकस’मा मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामलाई कथाको केन्द्रमा राख्ने निर्माण पक्षले जनाएको छ। अहिले फिल्मको पूर्वतयारी तीव्र रूपमा अघि बढिरहेको छ।
निर्माण टिमका अनुसार दशैंलगत्तै फिल्मको छायांकन सुरु गर्ने तयारी छ। बाँकी कलाकार तथा प्राविधिक टोलीको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको छ।
निर्देशक नवीन पन्तले कलाकार तथा प्राविधिकसँगको कुराकानी लगभग टुंगिएको बताए। “अहिले कलाकार तथा प्राविधिकहरूसँग कुराकानी भइरहेको छ। करिब–करिब कुराकानी मिलिसकेको छ। टुंगो लाग्न मात्र बाँकी छ,” उनले भने।
सुजिता चौलागाईं निर्माता रहेको फिल्मका सहनिर्माता छत्रबहादुर खड्का तथा कार्यकारी निर्माता धर्मेन्द्र पन्त हुन्। फिल्मको संगीतमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्दैछन्। गीतका शब्द दीपक शर्मा र निर्देशक पन्तले तयार पार्नेछन्।









