फिल्म । अभिनेता दीपकराज गिरीको आगामी फिल्म ‘छ माया छपक्कै २’को छायांकन सोमबारदेखि सुरु भएको छ । छायांकन अघि भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा शुभसाइत पूजा गरिएको थियो । यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको चर्चित फिल्म ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला हो । सामाजिक, राजनीतिक कथावस्तुमा आधारित फिल्मलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।
फिल्मको पटकथा दीपकराज गिरी र दीपेन्द्र लामाले संयुक्त रूपमा लेखेका हुन् । शुभसाइत पूजापछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपकराजले करिब ४० दिनको तालिकासहित छायांकन सुरु गरिएको जानकारी दिए । उनका अनुसार फिल्मको छायांकन पोखरा, नुवाकोट र काठमाडौंमा हुनेछ। सोमबार बिहान सामाजिक सञ्जालमार्फत तीन कलाकार सार्वजनिक गर्दै छायांकन सुरु भएको जानकारी पनि दिइएको छ ।
फिल्ममा मुख्य भूमिकामा दीपकराज गिरीसँगै केकी अधिकारी र सनिशा भट्टराई रहनेछन् । यस श्रृंखलामार्फत सनिशाको प्रवेश भएको हो । यसपटक केदार घिमिरे ‘माग्ने बुढा’ भने फिल्ममा नदेखिने भएका छन् । पटकथा लेखकसमेत रहेका दीपकराजका अनुसार ‘माग्ने बुढा’को स्थानमा नयाँ पात्र प्रस्तुत गरिनेछ ।
केदार घिमिरे हाल अमेरिकामा रहेकाले उनी फिल्ममा सहभागी हुने/नहुने टुंगो लागेको छैन । रोहित अधिकारी निर्माता रहेको फिल्म आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको ब्यानरमा निर्माण हुन लागेको हो । कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहनेछन् । फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।











