‘लालीबजार’ सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरेका हौँ : रवीन्द्रसिंह बानियाँ

फिल्म । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ।

‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड फिल्म हो। विसं २०४३ देखि २०५८ सालसम्मको समयावधिलाई समेटिएको यस फिल्मले तत्कालीन समाजमा विद्यमान असमानता, सत्ताको दुरुपयोग र कमजोर समुदायमाथि भएका अन्यायलाई चित्रण गर्ने प्रयास गरेको छ।

फिल्मको कथावस्तु अनुसार बादी समुदायका महिलामाथि हुने शोषण, ‘नथी’ जस्ता परम्परागत अभ्यासमार्फत गरिने नियन्त्रण तथा स्थानीय सत्ताधारी वर्गको प्रभावलाई केन्द्रमा राखिएको छ। विशेषगरी एक आमाले आफ्नी छोरीलाई दमनकारी परिवेशबाट जोगाउन गरेको संघर्ष फिल्मको मुख्य कथावस्तु हो।

अभिनेता रवीन्द्रसिंह बानियाँले ‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको बताएका छन्। उनले भने, ‘यो फिल्म बादी समुदायको कथा र व्यथामा आधारित पिरियड फिल्म हो। त्यो समयको सामाजिक संरचना निकै जटिल थियो। आर्थिक रूपमा सबल र सत्तामा पहुँच भएका व्यक्तिहरूले कमजोर समुदायमाथि दबाब र शोषण गर्ने अवस्था थियो। ‘नथी’ भन्ने परम्पराले महिलाहरूलाई सम्पत्तिजस्तो व्यवहार गर्ने प्रवृत्ति देखाउँथ्यो। फिल्ममा एक आमाले आफ्नो छोरीलाई त्यस्तो परिस्थितिबाट बचाउन समाज र सत्तासँग लडेको कथा प्रस्तुत गरिएको छ।’

उनका अनुसार फिल्ममार्फत उक्त समुदायले भोगेका पीडा र यथार्थलाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रयास गरिएको छ। फिल्म निर्माणका क्रममा विभिन्न स्थानमा पुगेर अध्ययन-अनुसन्धान तथा स्थानीय समुदायसँग अन्तरक्रिया गरी कथा तयार पारिएको उनले जानकारी दिए। अघिल्ला फिल्महरूमा हल्का विषयवस्तु समेटिए पनि यसपटक गम्भीर र संवेदनशील विषय रोजिएको उनको भनाइ छ।

उनले भने, ‘फिल्म केवल व्यापारिक हिसाबले बनाएका होइनौँ, यो हाम्रो सामाजिक दायित्व पनि हो। यस्तो पीडा भोग्नुभएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जलि दिनु पनि हाम्रो उद्देश्य हो।’

निर्माण पक्षका अनुसार ‘लालीबजार’ सामाजिक यथार्थमा आधारित फरक धारको कथावस्तु भएकाले दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ। फिल्ममा विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन्। विशाल थियटरमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय छन् भने प्रशंसा जेनजी कन्टेन्ट क्रिएटरका रूपमा परिचित छिन्।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मको ट्रेलर षट्कोण आर्ट्सको युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। यसैगरी, क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ।

कमेन्ट गर्नुहोस्