फिल्म । हास्य विधामा स्थापित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ फिल्म ‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आशीर्वादलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएको हो ।
यसअघि नै मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने घोषणा भइसकेको छ । गत आइतबार निर्माण टिमले पोस्टरमार्फत उनलाई फिल्ममा स्वागत गरेको थियो ।
आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीबीच जोडी बन्ने वा नबन्ने विषयमा भने निर्माण पक्षले हालसम्म कुनै जानकारी दिएको छैन । फिल्मको औपचारिक घोषणा नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । दीपकप्रसाद आचार्यको निर्देशन रहने यस फिल्मको कथा कुमार कट्टेलले तयार पारेका हुन् । फिल्मको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने संलग्न छन् ।
सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथा प्रस्तुत गर्नेछ । लेखक कुमार कट्टेलका अनुसार फिल्मको कथा समसामयिक परिवेशमा आधारित छ । उमेश कुमार बराल निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता कुमार कट्टेल र शैलेश खत्री रहेका छन् ।
यो फिल्म दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय प्रोजेक्ट हो । यसअघि उनले निर्देशन गरेको फिल्म ‘परान’ वि.सं. २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । त्यस्तै, कुमार कट्टेलको निर्देशन तथा अभिनय रहेको ‘लाज शरणम्’ले पनि व्यावसायिक रूपमा सफलता हासिल गरेको थियो ।
आशीर्वाद क्षेत्रीको प्रवेशसँगै फिल्मको कलाकार चयन थप सशक्त बनेको निर्माण पक्षले जनाएको छ । छायांकनका लागि बाँकी कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया जारी रहेको छ ।











