
फिल्म । यही जेठ २५ गतेबाट रिलिज हुने फिल्म ‘लन्डन टु पेरिस’बाट अभिनयमा डेब्यू गर्दैछन् निश्चल खड्का । बेलायतको रमणीय दृश्यमा छायांकन र ठूलो व्यानरमा ब्रेक पाउनु निश्चलको सपना थियो । आफूलाई ठूलो पर्दामा हेर्ने उनको सपना आउँदो शुक्रबारबाट पुरा हुँदैछ । यस फिल्ममा उनी अर्का कलाकार कविर खड्कामार्फत जोडिएका हुन् ।
‘मैले दुई वटा फिल्मको अडिसनपछि सेलेक्ट भएर साइन नै गरेको थिएँ । तर ती फिल्म अडिसन भन्दा अगाडि बढ्न सकेनन् । एकदिन कविरको कल आएपछि म निर्माणसम्म पुगे’, निश्चलले भने । फिल्ममा उनले ‘अपिल’ को भूमिका निर्वाह गरेका छन् । उनलाई स्क्रीप्ट पढ्दा नै लन्डनदेखि पेरिससम्मको प्रेम कथा रमाइलो लागेको थियो । किनकि उनले कथामा आफू र आफ्नो पुस्तालाई पाए ।
‘अपिल भन्ने २८ वर्षे केटाको प्रेमकथाको यात्रा हो । अपिलको इमोसनमा कति उतारचढाव आउँछ भन्ने यसमा देखाएको छु, माया पाउनका लागि कुन हदसम्म जान्छ भन्ने देखाएको छु । आफ्नो सपना पुरा गर्न कतिसम्म लाग्नुपर्छ भन्ने मेरो पात्रले देखाएको छ’, उनले भने ।


उनले पात्रलाई रिलेट गर्ने भएपनि आफ्नो स्वभाव विल्कुलै फरक भएको बताए । फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । उनलाई आफ्नो को-स्टार व्यक्तिगत र व्यावसायिक रुपमा एकदमै सहयोगी लाग्यो । ‘मभन्दा उहाँ धेरै सिनियर भएकाले मैले धेरै कुरा उहाँबाट सिकें । हाम्रो उमेर एउटै भए पनि व्यावसायिकता हेर्दा उहाँ सिनियर । अभिनयका कति कुरा उहाँबाट सल्लाह लिएँ’, निश्चल भन्छन् ।
लन्डनदेखि पेरिससम्मको यात्रा र प्रेम कथा देखाईएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, कविर खड्कासँगै डेब्यु कलाकार निश्चल खड्का र गरिमा शर्मा छन् । फिल्मको सार्वजनिक प्रचार सामग्रीले मेकिङ उच्च रहेको प्रस्ट्याउछ । यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा घनश्याम लामिछानेको निर्देशन रहेको छ ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

यसमा अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई अल नेपाल वितरण गर्नेछन् । यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

