कथावाचक साइग्रेस फिल्ममा

फिल्म । कथावाचन शैलीका कारण युवा पुस्तामा लोकप्रिय साइग्रेस पोखरेल अब फिल्ममा देखिने भएका छन् । उनले फिल्म ‘आ बाट आमा’ बाट आफ्नो अभिनय करियर सुरु गर्न लागेका हुन् । निर्माण पक्षले उनलाई यसै हप्ता फिल्ममा अनुबन्धित गरेको छ। उनको प्रवेशसँगै फिल्मको मुख्य कलाकारको टोली पूरा भएको छ ।

निर्देशक चन्द्र पन्तका अनुसार, साइग्रेसलाई फिल्मको एक महत्त्वपूर्ण र सशक्त भूमिकामा लिइएको छ । हाल स्पेनको बार्सिलोनामा बस्दै आएका साइग्रेस फिल्मको छायांकनका लागि यसै साता नेपाल आउँदैछन् । फिल्मको छायांकन भदौ १२ गतेबाट सुरु हुनेछ ।

निर्देशक पन्त स्वयंले लेखेको यस फिल्ममा साइग्रेससँगै विपना थापा, पल शाह, सिम्रन पन्त, उषा उप्रेती र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत लगायतको अभिनय रहनेछ । फिल्ममा प्रदीप र विपना श्रीमान्-श्रीमतीको भूमिकामा देखिनेछन् भने पल उनीहरूको छोराको भूमिकामा हुनेछन् । फिल्मले मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने बताइएको छ ।

कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको यो फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवरको पनि लगानी रहेको छ । करण सिंह कार्यकारी निर्माता हुन् भने छितिज ढुङ्गाना सह-निर्माता हुन् । आगामी फागुन १५ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्डका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

कमेन्ट गर्नुहोस्