‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई उच्च शो

फिल्म । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई देशभरका हलले सुखद शो उपलब्ध गराएका छन् । सार्वजनिक प्रचार सामग्रीका कारण चर्चामा रहेको फिल्म क्युएफएक्सले उपत्यकाभित्र १५ शो र मोफसलमा २९ शो दिएको छ ।

यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । मोफसलमा प्रत्येक थिएटरमा ३-३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य’लाई २ सय ५९ शोहरु उपल्बध गराएका छन् ।

यस्तै, फिल्मले डायस्पोरा अन्तर्गत अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने निर्माण पक्षले दावी गरेको छ ।

फागुन १८ गतेदेखि प्रदर्शन हुने फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

सञ्जय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ ।

कमेन्ट गर्नुहोस्