जेनजी आन्दोलनको विद्रोही स्वर समेटिएको ‘हाम्रो आवाज’ सार्वजनिक

सङ्गीत । पोखरास्थित सांगीतिक समूह ‘बफिन्स ९८’ले जेन–जी पुस्ताको आन्दोलन र विद्रोहलाई समेट्दै नयाँ गीत ‘हाम्रो आवाज–नयाँ नेपाल’ सार्वजनिक गरेको छ । सार्वजनिक म्युजिक भिडियोले विशेषगरी २०८२ साल भदौ २३ गते देशभर युवाहरूले परिवर्तनको माग गर्दै गरेको आन्दोलन र सडक सङ्घर्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

बढ्दो भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण तथा सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धजस्ता सरकारी कदमविरुद्ध उत्रिएका युवाहरूको कथालाई गीतको मुख्य विषयवस्तु बनाइएको छ । राज्यले नागरिकको असन्तुष्टि बेवास्ता गरेपछि स्वतःस्फूर्त रूपमा सडकमा आएका जेन–जी पुस्तामाथि भएको दमन, गोली प्रहार तथा त्यसबाट भएको मानवीय क्षतिलाई गीतमा मार्मिक रूपमा चित्रण गरिएको छ ।

दुई दशकदेखि विदेशमा रहँदै आएका गायक सञ्जीव गुरुङको शब्द तथा स्वर रहेको यस गीतले युवाहरूलाई आफ्नै देशमा फर्केर निर्माणमा जुट्न आह्वान गरेको छ । यसअघि पनि ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि’, ‘रुँदै छ कर्णाली भूमि’, ‘जब घामको पहिलो झुल्का’ र ‘बरबरी आँसु’ जस्ता गीत प्रस्तुत गरिसकेको समूहले पुनः एकपटक सामाजिक चेतनासहितको सन्देश दिएको छ ।

गीतको संगीत संयोजन सञ्जीव गुरुङ र सुमन तामाङले संयुक्त रूपमा गरेका हुन् भने ध्वनि मिश्रण पोखरास्थित एपोस्टल रेकर्डिङ स्टुडियोमा गरिएको छ ।म्युजिक भिडियोमा जेन–जी आन्दोलनमा देखिएको युवा उभार, कलाकारहरूको ऐक्यबद्धता तथा हिमाल, पहाड र तराईका जनजीवनलाई समेटिएको छ । भिडियोको निर्देशन, छायाङ्कन र सम्पादन ब्यान्डका बेस गिटारिस्ट तथा वृत्तचित्र निर्माता जीवन भाइले गरेका छन् ।

‘हाम्रो आवाज–नयाँ नेपाल’लाई जेन–जी आन्दोलनका सहिद, घाइते तथा तिनका परिवारप्रति समर्पित गरिएको ब्यान्डले जनाएको छ । सुशासन, सकारात्मक परिवर्तन र भ्रष्टाचारमुक्त समाज निर्माणको लक्ष्य बोकेका युवाहरूका लागि यो सांगीतिक प्रस्तुति समर्पित गरिएको उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्