‘मितज्यू’ मार्फत दर्शकलाई सरप्राइज दिँदै तेरिया

फिल्म । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’ले दर्शकलाई मनोरञ्जनसहितको पूर्ण प्याकेज दिने निर्माण टिमको दाबी छ । सामाजिक विषयवस्तुसँगै मनोरञ्जनलाई पनि प्राथमिकतामा राखेर निर्माण गरिएको फिल्ममा नृत्य र अभिनय दुवै पक्षलाई विशेष रूपमा प्रस्तुत गरिएको बताइएको छ।

फिल्ममा चर्चित नृत्यांगना तथा अभिनेत्री तेरिया फौजा मगर मुख्य भूमिकामध्ये एकमा देखिँदैछिन् । आफ्नो नृत्य कौशलमार्फत नेपाल र भारतमा लोकप्रियता कमाएकी तेरिया यस फिल्ममा केवल नृत्यका लागि मात्र नभई महत्वपूर्ण पात्रका रूपमा प्रस्तुत भएकी हुन्। फिल्मका सार्वजनिक पोस्टर, टिजर र अन्य सामग्रीले पनि उनको मुख्य भूमिका रहेको संकेत गरिसकेका छन्।

फिल्ममार्फत दर्शकले पहिलोपटक तेरियाको अभिनय क्षमता पनि नजिकबाट अनुभव गर्न पाउनेछन्। यसअघि नृत्यमार्फत चर्चित रहेकी तेरियालाई अब दर्शकले अभिनेत्रीका रूपमा पनि हेर्न पाउने भएकाले फिल्मप्रति उत्साह बढेको निर्माण टिमको विश्वास छ।

गत वर्ष ‘घरज्वाइँ’मार्फत बक्सअफिसमा सफलता हासिल गरेका निर्देशक अनिल बुढा मगरले ‘मितज्यू’ निर्देशन गरेका हुन्। फिल्ममा तेरियासँगै दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको छ। पोस्टर र टिजरमा यी दुई अभिनेता आमनेसामने देखिएका छन्।

फिल्ममा दयाहाङ, सौगात र तेरियासँगै खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।

जनक घर्ती मगरद्वारा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ। नेपाली ग्रामीण परिवेश, संस्कृति, रहनसहन र मित्रताको कथामा आधारित फिल्मले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिएको छ।

कमेन्ट गर्नुहोस्