‘महाजात्रा’ हेर्न २७ वर्षपछि हल आए वडा अध्यक्ष श्रेष्ठ

फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ दोस्रो सातामा पनि उस्तै भिडभाडका साथ प्रदर्शन भइरहेको छ । फिल्मका शोहरू नेपालसँगै विदेशमा हाउसफुल भइरहेका छन् । फिल्म हेर्ने दर्शकको भिडभाड बढेकाले पनि मल्टिप्लेक्समा बेलुकी साढे दश बजेसम्मको शो रहेको छ ।

देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्म हेर्न नयाँ नयाँ दर्शक पनि आइरहेका छन् । दरबारमार्गमा रहेको क्युज सिनेमामा पाँच वर्षपछि ह्वीलचेयरमै एक दर्शकले फिल्म हेर्न आइपुगेका थिए । यस्तै, बुधवार सिभिल मलमा बन्दिपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले विसं २०५३ सालपछि हलमै आएर फिल्म हेरेको बताए ।

‘मैले पछिल्लो समय ५३ सालपछि हलमा आएर फिल्म हेरेको छैन । म टिभीमा भने फुर्सद मिल्दासम्म हेर्छु । यसपटक वडाकै कामले काठमाडौँ आएको समयमा महाजात्राको चर्चा सुनेकाले फिल्म हेर्न आइपुगेको हुँ’, वडा अध्यक्ष श्रेष्ठले भने,’फिल्म हेर्दा समय गएको पत्तै भएन । मनोरन्जनसँगै संदेश पनि छ । यसमा युवासँगै देशको स्थितिलाई चित्रण गरिएको छ । अब आउँदा दिनमा हलमै आएर फिल्म हेर्छु ।’

उनले ‘जात्रा’ शृंखलाका अघिल्ला फिल्महरू घरमै हेरेको बताए । उनी सोही गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापासहितको समूहमा फिल्म हेर्न आएका थिए । हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका निर्देशक प्रदीप भट्टराई, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीलाई भेटेपछि वडा अध्यक्ष श्रेष्ठ हर्षित देखिनुका साथै फिल्म बारे गफगाफ गरेका थिए ।

नयाँ दर्शकलाई हलमा पाउँदा निकै उत्साह बढेको अभिनेता बानियाँले बताए । ‘हामी सकेसम्म प्रत्यक्ष भेटेर नै दर्शकलाई धन्यवाद दिईरहेका छौँ । यसक्रममा हामीले ९९ वर्षको बुवासँगै ८४ गर्नुभएका बुवाआमा, ह्वीलचेयरमा फिल्म हेर्न आउनु भएका दर्शक लगायत पहिलोपटक हल आउनु भएको दर्शक पनि भेटेका छौँ । नेपाली फिल्ममा नयाँ दर्शक ल्याउन हुँदा खुसी लागेको छ’, अभिनेता बानियाँले भने ।

पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमति बक्सअफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनि एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमति प्रदर्शनमा छ ।

फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ को दोस्रो सातामा पनि नेपालसँगै विश्वभर आक्रामक व्यापार गरिरहेको छ । यसका साथै नेपालकै ठूलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ । पहिलोपटक उक्त हलले नेपाली फिल्मलाई यसरी आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ घोषणा गरेको हो ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने,पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्