फ्राइडे फिल्म : ‘जय हो’ सँगै ‘महानगर’ प्रदर्शनमा

फिल्म । फ्राइडे फिल्म अन्तर्गत अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ सँगै कार्म र मेनुका प्रधान अभिनित ‘महानगर’ प्रदर्शन भएको छ ।

आक्रामक प्रचारसहित प्रदर्शनमा आएको ‘जय हो’लाई मल्टीप्लेक्सहरुले राम्रो शो उपलब्ध गराएका छन् । फिल्मको गीत-संगीतको चर्चा र स्टारकास्टका कारण फिल्मको ओपनिङ सुखद सुरुआत भएको छ । वर्षातको बाबजूद पनि फिल्म ‘जय हो’ले दर्शकको सुखद साथ पाएको छ । बिहानी शो औसत भए पनि दिउँसोबाट फिल्मले दर्शक बढाएको छ ।

काठमाडौंका केही मल्टीप्लेक्सहरुमा दिवा शो करिब हाउसफुल थिए । शुक्रबार दिउँसो दर्शक प्रतिक्रिया बुझ्न पिता शोभित बस्नेत र श्रीमती करिश्मा केसीको साथमा काठमाडौंका केही हलमा पुगेका अभिनेता सलोन बस्नेत प्रफुलित मुद्रामा देखिए ।,प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाको प्रभाव पनि व्यापारमा पारेको छ । कमेडी-लभस्टोरी जनरामा निर्माण भएको फिल्मका निर्देशक टेक पौरखी राई हुन् ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको पनि अभिनय छ । सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छन् । यो फिल्ममा सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन तथा सुरेश न्यौपानेको लेखन छ ।

त्यस्तै, मोहन राईद्वारा निर्देशित ‘महानगर’मा कार्म, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायतको अभिनय छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई पात्रको जीवनमा त्यो रातले ल्याएको परिवर्तनमा फिल्म केन्द्रित छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको यस फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् ।

कमेन्ट गर्नुहोस्