फिल्म । नायक पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’को छायांकन शुक्रबारदेखि सुरु भएको छ। निर्माणपक्षका अनुसार फिल्मको छायांकन ३५ दिनसम्म चल्नेछ। गागलफेदीस्थित फिल्म स्टुडियोबाट छायांकन सुरु गरिएको हो। छायांकनअघि निर्माणपक्षले पूजा गर्दै शुभसाइत समारोह आयोजना गरेको थियो।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायतका कलाकारको अभिनय रहनेछ। शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा फिल्ममा देखिनेछन्।
चन्द्र ज्योती आले र पल शाहको लगानीमा निर्माण हुन लागेको फिल्ममा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन तथा भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।
विशाल कार्कीको निर्माण व्यवस्थापन रहने फिल्ममा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर र आशिष पौडेलको पोशाक डिजाइन रहनेछ।
सामाजिक प्रेमकथामा निर्माण हुन लागेको फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माणपक्षले फिल्मलाई आगामी फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको छ।
फिल्मको छायांकन काठमाडौंमा १० दिन गरिनेछ। त्यसपछि निर्माण टिम पर्वत प्रस्थान गर्नेछ। फिल्मको अधिकांश छायांकन पर्वतमा गरिने निर्माणपक्षले जनाएको छ। नायक तथा निर्माता पल शाहले फिल्म निर्माणमा लाग्दा आफूले छुट्टै अनुभूति गरिरहेको बताए। उनले दर्शकमाझ उत्कृष्ट फिल्म पस्कने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।










