हलिउड प्रिमियरमा रुचाईयो ‘गोर्खा वारियर’

फिल्म । नेपाली चलचित्र ‘गोर्खा वारियर’को बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर सम्पन्न भएको छ । नौ सय दर्शक सहभागी प्रिमियरमा चलचित्र हेरेपछि उभिएर तालि बजाएका थिए । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमार्फत गोर्खालीको वीरताको कथा प्रस्तुत गरिएको छ । मिलनले आफूले दर्शक हुँदा देखेको सपनामा चलचित्रकर्मीको रुपमा पुरा गर्न पाउँदा खुसी लागेको बताए ।

‘मैले २० वर्ष अघि देखेको यो सपना ऐतिहासिक रुपमा आज यो प्रतिष्ठित स्थलमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम मैले सोचेको भन्दा धेरै सफल भएकोमा साह्रै खुसी छु’, निर्देशक मिलनले भने,‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु । यो प्रिमियरले कालान्तरमा सम्पूर्ण नेपाली चलचित्रलाई टेवा पुर्याउने छ ।’

उनका अनुसार प्रिमियरमा विशिष्ट अतिथिमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र अर्याल, सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक तथा गीतकार शैलेन्द्र खनाल ‘शरद’ लगायत थिए । यस्तै हलिउडबाट मिसन इम्पोसिवलका निर्माता टोमी ग्रोम्ली, हलिउडका पाइनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रुपमा यो प्रिमियरमा सहभागी थिए ।

प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफूलाई गोर्खालीको कथा र वीरतालाई पर्दामा ल्याउन मदत प्राप्त भएको निर्देशक मिलनले बताए । ‘हाम्रो कथालाई हेर्ने उत्साह र हेरेपछि पाएको प्रतिक्रियाले हौसला मिलेको छ । मैले चलचित्रको निर्माणका क्रममा खर्चिएको एक दशकको समयको प्रतिफलले मलाई आगामी कार्यदिशा तय गर्न मदत गरेको छ’,निर्देशक मिलनले भने,‘यस्ता कथालाई पैसा भन्दा पनि ईच्छाले बनाउन सकिन्छ । म आगामी दिनमा पनि हाम्रो वीरताको कथालाई पर्दामा ल्याउने छु ।’

नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिबमहासचिव अरुण कुमार प्रधान, निर्माता तथा निर्देशक सन्तोष सेन, अभिनेता प्रेम पुरी, ओएसआर डिजिटलका अध्यक्ष एवम् चलचित्र व्यावसायी ओम अग्रवाल, सञ्चारकर्मी नरेश भट्टराई लगायत उपस्थित थिए । चलचित्रका अभिनेता रितेश चाम्स, अभिनेत्री रेविका गुरुङ, संगीतकार एलिश कार्कीलगायतले हलिउड प्रिमियरको अनुभव स्थानीय सञ्चारकर्मीसँग बाडेका थिए ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्