फिल्म । कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौँस्थित भद्रकाली मन्दिरमा मुहूर्त सम्पन्न गर्दै फिल्मको छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरिएको हो । निर्देशक गजुरेलका अनुसार वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा फिल्मको छायांकन गरिनेछ ।
यस फिल्मबाट वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो नेपाली फिल्म क्षेत्रमा संकलित सम्पादन अनुभवका आधारमा उत्कृष्ट कथा प्रस्तुत गर्ने उद्देश्यले निर्माणमा लागेको उनले बताएका छन् ।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको ‘सारथी’मा कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिने भएको छ । यसले दर्शकमाझ उत्सुकता बढाउने निर्माण टिमको विश्वास छ । अभिनेत्री सिंह मुहूर्त कार्यक्रममा सहभागी थिइन् भने अभिनेता प्रधान वैशाख १५ गते नेपाल आएर छायांकनमा सहभागी हुने तयारीमा छन् ।
मुहूर्त कार्यक्रममा वरिष्ठ फिल्मकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए । साथै, नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्त्यालको पनि उपस्थिति रहेको थियो ।
फिल्ममा उत्तम प्रधान र निरुता सिंहका साथै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका कलाकारको अभिनय रहनेछ ।
सौर्यल थापा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी रहेका छन् भने लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल स्वयं रहेका छन् ।











