फिल्म । अभिनेता राजेश हमालको जीवन, फिल्मी यात्रा र समाजका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म : राजेश हमालसँग यज्ञश’ विमोचन गरिएको छ । शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा अभिनेता हमाल, उनकी पत्नी मधु भट्टराई, उपन्यासकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
अभिनेता हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’को नामबाट प्रेरित यो पुस्तकमा उनको जीवनयात्रा, फिल्मसँग जोडिएका अनुभव, संस्मरण र सामाजिक–व्यक्तिगत विचार समेटिएका छन् । पुस्तक हमालसँगको संवादमा आधारित छ ।
हमालले फिल्म, समाज र राजनीतिका विषयसँगै आफ्ना गोप्य कुराहरू पनि पुस्तकमा खुलाएको बताए । ‘यो पुस्तकमा मेरो बाल्यकालदेखि परिवारसम्मका कुरा छन् । यो पढ्दा मैले आफ्नो सम्पूर्ण जीवन फेरि जिएको महसुस गरें’, अभिनेता हमालले भने ।











