फिल्म । नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित राभाङ्लामा भव्य रूपमा सम्पन्न भएको छ। ‘भाषा, साहित्य, कला-संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नेपाल, सिक्किम र भारतका विभिन्न स्थानबाट साहित्यकार, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सिक्किम वेभ्स मिडिया र सिक्किम अनलाइन न्यूज मिडियाको सहकार्यमा आयोजित कार्यक्रममा सिक्किमका विधायक रिक्साल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी भएका थिए। अवार्ड समारोहसँगै सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो।
समारोहमा नेपाली भाषा, साहित्य र संगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका नेपालका वरिष्ठ साहित्यकार अमर वान्तु र सिक्किमका साहित्यकार हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ अन्तर्गत दीर्घसाधना सम्मान प्रदान गरिएको थियो।
यस वर्ष विभिन्न विधामा योगदान पुर्याएका दर्जनौं स्रष्टा तथा कलाकार सम्मानित भएका छन्। नवगीततर्फ बाबुराम श्रेष्ठ ‘निरुपम’, हास्य अभिनयतर्फ रश्मी पाण्डे, लोकप्रिय गीतकारतर्फ बिमल काफ्ले, युगल गायनतर्फ तारावीर पाण्डे र मिलन नेवार, भाषाभाषी गायनतर्फ अनिल योञ्जन तथा आधुनिक गीततर्फ नारायण नेपाल, सुमन बी.टी. र पवित्रा गुरुङ सम्मानित भए।
त्यसैगरी, राइजिङ स्टार अवार्ड बालकलाकार कायरा गुरुङले प्राप्त गरिन्। लोक–पप गायनतर्फ योगेश काजी, महिला मोडलतर्फ मेरो करिमा, आधुनिक गीतकारतर्फ प्रकाश सुवेदी, आधुनिक मोडलतर्फ विनोद श्रेष्ठ, लोकदोहोरी गायनतर्फ बिनोद तानेर, पप–आधुनिक मोडलतर्फ मुकेश गुरुङ, लोक–पप संगीतकारतर्फ शंकर थापा ‘स्माइल’, डायस्पोरा गायिकातर्फ नीता आचार्य, आधुनिक गीतकारतर्फ डा. विलोल पोखरेल, आधुनिक संगीतकारतर्फ दीपक शर्मा तथा आधुनिक गीततर्फ प्रकाशजंग कार्कीलाई जुरी अवार्ड प्रदान गरियो।
यस्तै, युगल गायनतर्फ षड्ज सम्बाहाम्फे र रचना रिमाल, लोकप्रिय आधुनिक गायकतर्फ छपिन गुरुङ, निर्देशनतर्फ कृष्णदेव रूपाखेती, लोकप्रिय गीततर्फ पासाङ शेर्पा, आधुनिक गायिकातर्फ सारिका घिमिरे, उत्कृष्ट गायकतर्फ रोशन टमट्टा, शृङ्गारतर्फ अमृत मारहट्ठा, पूर्वेली रचनातर्फ सेरु बराली, भाषाभाषी गीतको कोरियोग्राफीतर्फ पवित्रा आचार्य, सम्पादनतर्फ कल्पिस विश्वकर्मा, लोक–पप गायिकातर्फ मञ्जु लावती तथा नव मोडलतर्फ कुन्दन गुप्ता सम्मानित भए।
समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा तारावीर पाण्डे, अशोक दर्जी, शंकर थापा ‘स्माइल’, सारिका घिमिरे, षड्ज सम्बाहाम्फे, सुमन बी.टी., प्रकाशजंग कार्की, सुन्दर राई, विनोद दनुवार, रमेश पाठक, पवित्रा गुरुङ र अनिश योञ्जनले प्रस्तुति दिएका थिए। नृत्यतर्फ पवित्रा आचार्य, शिला गजुरेललगायत कलाकार सहभागी थिए।
कार्यक्रममा साहित्यकार अमर वान्तु र डा. विलोल पोखरेलले कविता वाचन गरेका थिए। साथै, सिक्किमका कवि फुर्बा खाण्डु शेर्पाको कवितासङ्ग्रह ‘देउराली भञ्जाङ’ को पनि लोकार्पण गरिएको थियो।
अवार्डका अध्यक्ष गणेश सुवेदीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको बताउँदै नेपाल र विश्वभरका नेपालीभाषी स्रष्टालाई एउटै मञ्चमा जोड्ने प्रयासलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने बताए।
कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार विभिन्न कारणले राभाङ्ला पुग्न नसकेका सम्मानित व्यक्तित्वलाई निकट भविष्यमै काठमाडौंमा विशेष समारोह आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिनेछ। आयोजकका अनुसार अघिल्लो संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो।









