फिल्म । सुयोग गुरुङको निर्देशनमा तयार फिल्म ‘जेरीः अन टप’ को लागि काठमाडौँमा भव्य सेट तयार गरिएको छ । हिमालसँग जोडिएको फिल्म भएकाले गर्दा सेटमा छायांकन गर्नु परेको निर्माता सरोज न्यौपानेले जानकारी दिए । उनले सगरमाथाको दृश्यलाई काठमाडौँमै सेटको सहायताले खिचिने बताएका छन् ।
उनले भने,‘हाम्रो कथा र फिल्मको पात्रको दृश्य हिमाली भेगमा छ । सोही कारण सगरमाथाको दृश्यलाई कैद गर्न सेट बनाएर छायांकन गरिरहेका छौँ । फिल्मलाई भव्य बनाउन कुनै कसर बाँकी राखिएको छैन ।’
उनका अनुसार सेटको खर्च झन्डै ४५ लाख बराबर छ । यसका साथै उनले दीपकराज गिरीसँगको सहकार्य आउँदो वैशाखदेखि फिल्म छायांकन गर्दैछन् । उक्त फिल्ममा सरोज निर्माता रहनेछन् ।
‘दीपकजीसँग सहकार्य हुने विषयमा छलफल भएको लामो समय भयो । अहिले आएर अनुकुल भएपछि जुरेको हो । हाम्रो छायांकन वैशाखको दोस्रो साताबाट गर्ने तयारी छ’, निर्माता न्यौपानेले भने ।
‘जेरीः अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, विपना थापा, केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहने छ । ‘जेरी अन टप’मा भुवन र विपनाले अनमोलको बाबुआमाको रोलमा जोडी बाँध्दैछन् । अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने छ ।