क्लब नोभामा सविन र नविनको संयुक्त लाइभ कन्सर्ट हुँदै

सङ्गीत । नेपाली रक संगीतका चर्चित ब्यान्ड सविन राई एन्ड द फारोह र नविन के. भट्टराई एन्ड अतृप्त आगामी साउन २३ गते (८ अगस्ट) ठमेलस्थित क्लब नोभामा आयोजना हुने ‘द रक लेगेसी’ लाइभ कन्सर्टमा एकै मञ्चमा प्रस्तुत हुने भएका छन् । स्मार्ट जीको प्रस्तुतिमा हुने कन्सर्टमा दुवै ब्यान्डले आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा गेस्ट डीजे निशानको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

आयोजकले यसपटक मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोडेको छ । क्यान्सरसँग संघर्ष गरिरहेकी रेखा गुप्ताको उपचारका लागि ई-सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम सहयोग गरिने स्मार्ट जीकी रेश्मा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार ‘द रक लेगेसी’ नेपाली रक संगीतका दुई प्रतिष्ठित ब्यान्डलाई एउटै मञ्चमा अनुभव गर्ने विशेष अवसर हुनुका साथै मानवीय अभियानमा सहभागी हुने माध्यम पनि हुनेछ।

कन्सर्टको व्यवस्थापन आवरण इभेन्ट्सले गरेको छ भने ई-सेवा टिकटिङ पार्टनर रहेको छ। सामान्य प्रवेश टिकटको मूल्य रु. १,००० र भिआइपी टिकटको मूल्य रु. १,५०० निर्धारण गरिएको छ । आयोजकले कार्यक्रममा ठूलो संख्यामा संगीतप्रेमीको सहभागिता रहने अपेक्षा गर्दै नेपाली रक संगीतका दुई पुस्तालाई एउटै मञ्चमा प्रस्तुत गर्नुका साथै सामाजिक सेवाको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्