‘तेल भिसा’ को तीन दिनको व्यापार कस्तो छ ?

फिल्म । गत शुक्रबार अर्थात् मङ्सिर ७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’ ले तीन दिनमा एक करोड ३६ लाखको ग्रस कलेक्सन गरेको छ । फिल्मका वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार, शनिवार र आइतबार गरेको कलेक्सन सार्वजनिक गरिएको हो । उनले सोमबार पनि दर्शकको उपस्थिति फिल्म हेर्न निकै राम्रो रहेको बताएका छन् ।

यसले फिल्म प्रति दर्शकको आकर्षण रहेको प्रस्ट्याउछ । निर्देशक शङ्कर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा फिल्म ‘तेल भिसा’ तयार गरेकाछन् । फिल्मलाई आफूले प्रवासी जीवनमा देखेको एउटा कथालाई दर्शकसम्म ल्याएको उनले बताए ।

‘तेल भिसा’ मा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको छ । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । बुवा र छोराको जीवनलाई पर्दामा जीवन्त बनाएका अभिनेता कार्कीले नयाँ अनुभव संगालेको बताए ।

यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गरेको हो ।

कमेन्ट गर्नुहोस्