विमलको नाटक थिएटर अवार्डमा

रङ्गमञ्च। विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘ महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को ४ विधामा मनोनयनमा परेको छ । विमल सुवेदीकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, कोरियोग्राफी र लाइटसहित ४ विधामा मनोनयनमा परेको हो । निर्देशक सुवेदी स्वयं पनि निर्देशन विधामा मनोनयनमा परेका छन् ।

भारतभर मञ्चन हुने नाटकहरूमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ ४ सय ९५ बाट छानिएर उत्कृष्ट १० मा परेको हो । यसरी छानिएका १० नाटक यही मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुनेछन् । आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले फिल्म बनाउने सिलसिलामा तयार गरेको जनाएका छन् । उनले ९ वर्षअघि फिल्म बनाउने सिलसिलामा यसको कथा तयार गरेको तर विविध कारणले फिल्म नबनेपछि यही कथालाई नाट्य रुपान्तरण गरेको उनको भनाइ छ ।

‘यो भुटानी शरणार्थीको कथा हो जो आफ्नो पुख्र्यौली थलो छाड्न बाध्य भएर विश्वका धेरै देशमा पुगे । नाटकले घर बन्ने प्रक्रियादेखि बनेको घर भताभुङ्ग भएको अवस्थासम्मलाई अभिव्यक्त गर्ने प्रयास गरेको छ,’ विमलले भने । नाटककार सुवेदीले नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने आफ्नो उद्देश्य रहेको र आफूले लेखन तथा निर्देशन गरेको नाटक भारतभरका नाटकमध्ये उत्कृष्ट १० मा पर्नाले आफू त्यो अभियानमा एक कदम अघि बढेको महसुस भएको बताएका छन् । ‘यो उपलब्धि समग्र नेपाल र नेपाली रंगमञ्चका लागि गर्वको विषय हो । नेपाली कथा विश्व घुम्नुपर्छ र हाम्रो दर्शनलाई आफ्नै हिसाबले अभिव्यक्त गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यो नाटकको यात्राले मलाई त्यो मान्यतामा अडिग रहन प्रेरित गरेको छ,’ विमल भन्छन् ।

विमलले यो नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरेका हुन् । नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटर मिलेर तयार गरेको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्टस् ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । यो नाटक नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्