फिल्म । गत शिवरात्रि अर्थात् फागुन १४ गतदेखि प्रदर्शन भएको फिल्म ‘फेरि रेशम फिलिली’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको निर्माण पक्षले दावी गरेका छन् । दर्शकले दिएको प्रक्तियाले दिनानुदिन फिल्मको व्यापार बढिरहेको निर्माता रौनकविक्रम कँडेलले दावी गरेका छन् । उनले दर्शकको सिफारिसको प्रभाव बक्सअफिसमा देखिएको बताए । यद्यपि उनले अहिलेसम्म भएको कुल व्यापारको विषयमा भने जानकारी दिएका छैनन् ।
अभिनेत्री सुपुष्पा भट्टले शनिबार काठमाडौं उपत्यकाका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गरेपछि मिडियासँगको कुराकानीमा दर्शकको चाँप हलमा बढिरहेको बताइन । शनिबार विहानी शोबाट नै हलमा दर्शक बढिरहेको उनको दावी छ । यसैबीच फिल्ममा सवावेश गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ । यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ ।
निरोज महर्जनको लेखन तथा निर्देशन रहेको फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।












