‘सेन्सर बोर्डले सिर्जना बुझ्न सकेन’ : निर्देशक रौनियार

फिल्म । निर्देशक दीपक रौनियारले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मकर्मीलाई अन्याय गरिरहेको बताएका छन् । उनी निर्देशित पछिल्लो फिल्म ‘राजागञ्ज’ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नु भएको दृश्य हटाउन लगाएपछि निर्देशक रौनियारसहित फिल्मकर्मीले सामूहिक छलफल गरेका छन् । पछिल्लो समय सेन्सरका नाममा बढिरहेको मनोमानीको अन्त्य हुनुपर्ने उनीहरुको एक आवाज छ ।

निर्देशक रौनियारले पब्लिक डोमेनमा उपलब्ध भिडियोलाई लिएर फिल्म बनाउँदा पनि साम्प्रदायिकता भड्काएको आरोप खेप्नु परेको बताए । उनले भने,‘सेन्सर बोर्डका अध्यक्षले मलाई सामाजिक सद्भावको विषयमा बुझाउदै गर्दा त्यो भाषण गर्ने व्यक्ति चाही कसरी सही हुन् सक्छ ? हामीले उक्त भाषणलाई विम्वका रुपमा प्रयोग गरेका छौँ । साथै, प्रधानमन्त्री भन्ने शब्दमा पनि आपत्ति जनाउनु भयो । अब हामीले के कस्तो फिल्म बनाउने ?

निर्देशक रौनियारले एउटा सर्जकले स्वतन्त्र भएर काम गर्न नसकेको बताएका छन् । प्राय देशमा फिल्म वर्गीकरण गर्ने बोर्ड भएता पनि नेपालमा सिर्जनालाई काँटछाँट गर्ने गरेकोमा उनले दु:ख व्यक्त गरे ।

‘मेरो फिल्म उच्च शिक्षा पढिरहेका विद्यार्थीले समेत हेर्न सक्छन्, तर कथाको मर्म मर्ने गरी युनिभर्सल सर्टिफिकेट दिनुभयो । यसले पनि सेन्सरमा रहेका पदाधिकारीको चेतनालाई बुझाउँछ, मैले विरोध स्वरूप सेन्सर गरिएका दृश्यलाई कालो नै राखेर फिल्म हलमा पठाएको छु’, निर्देशक रौनियारले भने ।

मण्डला थियटरमा आयोजना गरिएको भेलामा निर्देशक मनोज पण्डित, उपेन्द्र सुब्बा, अशोक शर्मा, विनोद पौडेल, गणेशदेव पाण्डे, अभिनेता दयाहाङ राई, दीपकराज गिरी लगायत सहभागी थिए ।

कमेन्ट गर्नुहोस्