फिल्म । आगामी साउन १ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’ को अमेरिका प्रदर्शन अधिकार (अमेरिका राइट्स) बिक्री भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्म्सले फिल्मको अमेरिका प्रदर्शन अधिकार खरिद गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा ‘गौँथली’ का निर्देशक डा. कपिल रिजाल, अभिनेता अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्म्सका तर्फबाट रोशन सुवेदीले हस्ताक्षर गरेका छन् ।
प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री प्रक्रिया अघि बढाएको हो । निर्देशक रिजालका अनुसार फिल्मप्रतिको बढ्दो उत्साहसँगै ओभरसिज बजारबाट प्रदर्शन अधिकारका लागि माग पनि बढ्न थालेको छ । ‘बिस्तारै हाम्रो फिल्मको हाइप बढ्दै गएको छ। त्यससँगै ओभरसिज बजारबाट इन्क्वाइरी पनि बढिरहेको छ’, निर्देशक रिजालले भने ।
नेपालमा साउन १ गतेदेखि प्रदर्शनमा आउने ‘गौँथली’ त्यसको एक सातापछि अर्थात् साउन ८ गते (जुलाई २४) देखि अमेरिकाका विभिन्न प्रमुख सहरमा एकसाथ प्रदर्शन गरिनेछ ।
दुई दशकअघि डा. भोला रिजालले ‘गौँथली’ शीर्षकमा निर्माण गरेको फिल्म नेपाली फिल्म उद्योगको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) का रूपमा परिचित छ । यसपटक सोही शीर्षकलाई नयाँ कथावस्तुसहित डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले पुनः पर्दामा ल्याएका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा आबद्ध छन् ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् । फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक, हरि हुमागाईं छायाङ्कन निर्देशक तथा मिलन श्रेष्ठ सम्पादक रहेका छन् ।









