फिल्म । निर्माणधीन फिल्म ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाशलाई यो फिल्ममा अनुबन्ध गरिएको हो । ‘मिरमिरे’मार्फत प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्न लागेका छन् । निर्देशक यम शेर्पाले कलाकारसँग सम्झौता गर्ने काम जारी भएको बताए । दयाले समय दिएपछि फिल्म छायांकन गर्ने तयारीमा निर्देशक शेर्पासहितको टिम रहेको छ ।
‘मिरमिरे’ उनको दोस्रो निर्देशकीय फिल्म हो । ‘कार्साङ’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक शेर्पाले ‘मिरमिरे’को कलाकार र प्राविधिक पक्ष बलियो हुने बताए । अभिनेता सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा उत्साहित भएको बताए । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यो फिल्मले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको यो फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा प्रस्तुत गर्नेछ। फिल्मको कथा स्वयम् निर्देशक शेर्पाले गरेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्माता गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । कार्यकारी निर्माता भने आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।











