फिल्म । नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक साढे ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले एक परिवारमा पारेको असरको कथा फिल्ममा देखाईएको छ ।
अभिनेता दयाहाङ राईको पात्र बाँसको चोयाबाट डोकोडालो, नाङ्लो बनाएर जीविकोपार्जन गर्छ । श्रीमती र एक छोरासँग उसको जीवन जेनतेन चलेको छ । जब गाउँमा सडक र गाडी आउँछ तब उसको पेशा संकटमा पर्छ । गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् । त्यसपछि दयाहाङको पात्रले गर्ने संघर्षलाई ट्रेलरमा देखाइएको छ ।
यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा दयाहाङको श्रीमतीको भूमिका पशुपति राईले निर्वाह गरेकी छन् भने छोराको भूमिकामा प्रसान राईले अभिनय गरेका छन् ।
फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । फिल्मको निर्माता अमोद राई र नवीन सुब्बा हुन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् ।