फिल्म । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’ मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा प्रकाशकै शब्द र सङ्गीत रहेको छ । गीतमा प्रकाशलाई शान्ती श्री परियारले साथ दिएकी छिन् ।
गीतको भिडियोमा प्रकाशसँग स्वस्तिमा खड्का देखिएकी छिन् । मौसम हिमालीले गीतको नृत्यलाई निर्देशन गरेका छन् । चैते दसैँको अवसर पारेर प्रदर्शनमा आउने फिल्को छायांकन सकिएर पोस्ट प्रोडक्सनमा रहदा प्रकाशले आफ्नो कन्टेनलाई बलियो बनाउन मेहनत गरिरहेका छन् ।
फिल्म निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ ।
फिल्ममा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ । सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ ।