‘माइतीघर’ गीतमा दर्शकको उत्साहजनक सहभागिता

फिल्म । आगामी असोज १३ गते फूलपातीबाट रिलिज हुने फिल्म ‘माइतीघर’को शीर्ष गीतको नृत्य प्रतियोगितामा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ । सोमबारबाट सुरु भएको यो प्रतियोगिताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता असोज १२ गतेसम्म चल्ने निर्माण पक्षले जनाएको छ ।

निर्माता रोहित अधिकारीले भने, ‘दर्शकहरूले २४ घण्टा नबित्दै यति धेरै भिडियो बनाएर पठाउनुभएको छ कि हामी छक्क परेका छौँ । यो उत्साहले हामीलाई थप ऊर्जा प्राप्त भएको छ ।’

उनले थपे, ‘२४ घण्टा नबित्दै ओएसआर डिजिटलका सामाजिक सञ्जाल प्लेटफर्ममा १५-२० लाख भ्यूज प्राप्त भइसकेको छ ।’ प्रारम्भमा प्रथम हुनेलाई ५ लाख नगद पुरस्कारको घोषणा गरिएको थियो । तर, अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । सहभागी सबैलाई समेत केही न केही पुरस्कार दिइने निर्माता अधिकारीले बताए ।

सञ्जिवनीको स्वरमा रहेको यो गीत सार्वजनिक भएसँगै चर्चामा छ । गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको नृत्य गरेर भिडियो बनाउनेमध्येबाट एक जनालाई ५ लाख नगद पुरस्कार दिइनेछ । गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त भिडियोको छायांकन मानकृष्ण महर्जन र सुशन प्रजापतिले गरेका छन् ।

फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् । फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारको अभिनय छ । चन्द्रकुमार दोङको कथामा आधारित यो फिल्मको पटकथा र संवाद रामशरण पाठकले लेखेका छन् । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

कमेन्ट गर्नुहोस्