नीताको ‘सुख दुःख’ मा मिथिला

फिल्म । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशकीय डेब्यू फिल्म ‘सुख दुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन् । आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता सम्पन्न भएको छ ।

‘फिल्म ‘सुख दुःख’ मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा हामी निकै उत्साहित छौं । उहाँबिना यो फिल्म अपूर्ण हुन्थ्यो। अब यो पूर्णतातर्फ अघि बढ्दैछ’, नीताले भनिन् ।

फिल्ममा यसअघि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपी (छायांकन निर्देशक) का रूपमा अनुबन्ध भइसकेका छन् । यद्यपि, मुख्य कलाकारको बारेमा निर्माण पक्षले अझै खुलासा गरेको छैन । नीताले मुख्य कलाकारको घोषणा केही सातापछि गरिने बताएकी छन् ।

‘नीता फिल्म्स’ को ब्यानरमा निर्माण हुने यो फिल्मको व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ । फिल्म आगामी वर्ष २०८३ को दसैंको फूलपातीमा प्रदर्शन गर्ने योजना छ । वितरण अधिकारको कुरा गर्दा, उपत्यकाबाहिर एफडी कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले जिम्मा लिएका छन् ।

कमेन्ट गर्नुहोस्