फिल्म । यही जेठ १५ गते रिलिज हुने फिल्म ‘महाभोज’ले अहिलेको समयसँग जोडिएको गहिरो सन्देश बोकेको छ । निर्माता हिमाल कडरियाले यो फिल्मलाई ‘अर्थपूर्ण संयोग’ को रूपमा व्याख्या गरेका छन् । सामाजिक यथार्थ र सन्देशमूलक कथावस्तुले भरिएको यो फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने उनको विश्वास छ ।
निर्माता कडरियाका अनुसार, ‘महाभोज’को कथा केही वर्षअघि लेखिएको भए पनि यसले उठाएका मुद्दाहरू आर्थिक शोषण, जनताको विश्वासघात र राज्यप्रतिको असन्तुष्टि अहिलेको सन्दर्भमा झन् गहिरिएका छन् ।
‘यो कथा हाम्रो समाजको वास्तविकता हो, जुन दर्शकले आफ्नो वरपरका घटनासँग जोड्न सक्छन्,’,उनले भने । फिल्मले मूल प्रश्न उठाउँछ,‘दोषी व्यक्ति हो कि प्रवृत्ति?’ कडरियाको जवाफ छ, ‘प्रवृत्तिले व्यक्तिलाई बनाउँछ र बिगार्छ। हाम्रो फिल्म यही कुरा बुझाउन खोज्छ।’
‘महाभोज’लाई सामाजिक आन्दोलनको रूपमा प्रचार गर्नुभन्दा निर्माता कडरिया दर्शकमा सोच र चेतनाको बीज रोप्न चाहन्छन् । ‘यदि यो फिल्मले मानिसलाई प्रश्न गर्न र मौनता तोड्न प्रेरित गर्छ भने, त्यो नै आन्दोलनको सुरुवात हो’, उनले भने । संवेदनशील विषयलाई आत्मसंयमका साथ प्रस्तुत गर्नुपर्ने चुनौती रहेको उनले बताए ।
दिनेश राउतद्वारा निर्देशित ‘महाभोज’ मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, गौमाया गुरुङ र मलिका महतजस्ता कलाकारहरूले अभिनय गरेका छन् । यथार्थ र कथाको सन्तुलन मिलाउनु निर्माण टिमको मुख्य चुनौती थियो, जसलाई निर्देशक राउतले कुशलतापूर्वक सम्हालेको निर्माता कडरियाको भनाइ छ ।
फिल्मको ट्रेलरले उत्साहजनक प्रतिक्रिया पाएको छ, जसले निर्माण टिममा थप आशा जगाएको छ । यो फिल्मले मौनतामाथि प्रश्न उठाउँदै सत्यलाई मुखर बनाउन खोज्छ । ‘अब पनि चुप लाग्ने कि बोल्ने?’ यो प्रश्नले सिनेमा हलबाट बाहिर निस्केर समाजमा गुञ्जन सक्ने उनको विश्वास छ । ‘महाभोज’ केवल मनोरञ्जन होइन, समाजप्रति उत्तरदायित्व बोध गराउने र आत्मसमीक्षा जगाउने प्रयास हो । निर्माता हिमाल कडरियाको शब्दमा, ‘यो संयोग हो, तर अर्थपूर्ण संयोग हो।’