फिल्म । हास्यकलाकार केदार घिमिरे पहिलोपटक मुख्य भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ को टिजर सोमबार सार्वजनिक भएको छ। रमाइला संवादले भरिएको पौने दुई मिनेटको टिजरले दर्शकलाई पूर्ण मनोरञ्जनको वाचा गरेको छ। टेलिभिजनमा ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’ को जोडीले चर्चित केदार घिमिरे र विल्सन विक्रम राई फिल्ममा फेरि सँगै देखिएका छन्, जहाँ विल्सन केदारको भान्जाको भूमिकामा छन्।
टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङ्देल पनि देखिएका छन्, यद्यपि उनीहरूको भूमिकाबारे विस्तृत खुलासा भएको छैन। केदारलाई भिन्न स्वरूपमा प्रस्तुत गर्दै पोस्टरबाटै चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि उनलाई नयाँ शैलीमा देखाएको छ।
आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका छन्। मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत र मित्र गुरुङको सम्पादन छ। टिजर साहिल खानले तयार गरेका हुन्।
‘माग्ने राजा’ भदौ ६ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।











