बोर्डको वार्षिकोत्सवमा पुराना नेपाली फिल्मको विशेष प्रदर्शनी

फिल्म । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली फिल्महरूको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपाली फिल्मको ऐतिहासिक विरासत संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली फिल्मसँग परिचित गराउने उद्देश्यले साउन २२ गतेदेखि २७ गतेसम्म बोर्ड परिसर, फिल्म बोर्ड चोक, काठमाडौंमा प्रदर्शनी सञ्चालन हुनेछ ।

प्रदर्शनीमा तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको फिल्म सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली फिल्म निःशुल्क प्रदर्शन गरिने बोर्डले जनाएको छ ।

साउन २२ गते शुक्रबार दिउँसो १२ बजे ‘आमा’ प्रदर्शनसँगै प्रदर्शनी सुरु हुनेछ । साउन २३ गते ‘सिन्दुर’ (बिहान ११ बजे) र ‘परिवर्तन’ (दिउँसो २ बजे), साउन २४ गते ‘मनको बाँध’ (बिहान ११ बजे) र ‘के घर के डेरा’ (दिउँसो २ बजे), साउन २५ गते ‘कुमारी’ (दिउँसो १२ बजे), साउन २६ गते ‘शान्तिदीप’ (बिहान ११ बजे) र ‘हिजो आज भोलि’ (दिउँसो २ बजे) तथा साउन २७ गते ‘बदलिँदो आकाश’ (बिहान ११ बजे) र ‘जीवनरेखा’ (दिउँसो २ बजे) प्रदर्शन गरिनेछ ।

एउटा मात्र फिल्म प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई फिल्म प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ । बोर्डका अनुसार प्रदर्शनीले पुराना नेपाली फिल्ममा चित्रित समाज, संस्कृति, भाषा, जीवनशैली तथा फिल्म निर्माणको इतिहासबारे नयाँ पुस्तालाई जानकारी गराउनुका साथै नेपाली फिल्मको संरक्षण, अभिलेखीकरण, अध्ययन र अनुसन्धानप्रति रुचि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ।

कमेन्ट गर्नुहोस्