फिल्म । म्याडोक फिल्म्सले बलिउडमा हरर-थ्रिलर युनिभर्सको सुरुवात गरेको छ । निर्माता दिनेश विजन र निर्देशक अमर कौशिकको प्रस्तुतिमा बनेको फिल्म ‘थामा’ को आधिकारिक टिजर सार्वजनिक भएको हो । टिजरमा दर्शकलाई डर, रहस्य र रोमान्सले भरिएको एक फरक संसार देखाइएको छ । अँध्यारो वातावरण, पुराना हवेली, अनौठा चिहानघर, रहस्यमय आवाज र अप्रत्याशित मोडहरूले ‘थामा’ एउटा साधारण हरर फिल्म मात्र नभई मानसिक रूपमा पनि झस्काउने कथा हुने संकेत गर्छ ।
फिल्ममा आयुष्मान खुराना, रश्मिका मन्दाना, परेश रावल र नवाजुद्दिन सिद्दीकी मुख्य भूमिकामा छन् । टिजरमा उनीहरूको चरित्र स्पष्ट रूपमा देखाइएको छैन, तर चारै जना फरक-फरक शक्तिसँग जोडिएका पात्रको रूपमा प्रस्तुत हुने अनुमान गरिएको छ । आदित्य सरपोरदारले निर्देशन गरेको यो फिल्मलाई निर्माताहरूले ‘युनिभर्स’को सुरुवात भनेका छन्, जसमा आगामी दिनमा थप कथाहरू जोडिँदै जानेछन् ।











