फिल्म । कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले फिल्म ‘जारी २’ पुरानै टिमसँगको सहकार्यमा बन्ने बताएका छन् । पहिलो फिल्ममार्फत समीक्षात्मक र व्यावसायिक सफलता प्राप्त गरेका निर्देशक सुब्बाले दोस्रो फिल्म ‘मनसरा’ को प्रचारप्रसारका क्रममा ‘जारी’ को दोस्रो शृङ्खलाबारे कुराकानी गरेका हुन् ।
‘जारीमा सबैले दु:ख गरेका थिए । त्यसकारण मैले यसको सिक्वेलमा पहिलो भागका सम्पूर्णलाई समेट्न सक्नुपर्छ । मलाई आईडिया फुरेपछि पुरानै टिमलाई लिएर काम सुरू गर्छु’, निर्देशक सुब्बाले भने ।
केही समय यता नेपाली फिल्म क्षेत्रमा निर्देशक सुब्बा र निर्देशक रामबाबु गुरुङ बीच हार्दिकता नरहेको चर्चा चलेता पनि सहकार्यको तयारी भइरहेको छ । निर्देशक सुब्बाले निर्मातादेखि कलाकारसम्म फेरबदल नगर्ने बताएका छन् ।
‘निर्माता र कलाकारसँगै प्राविधिक र वितरक पनि पुरानै राख्ने हो । किनकि पहिलो प्रयासमा हामीलाई विश्वास गरेकालाई छाड्न मिल्दैन’, निर्देशक सुब्बाले भने । उनले फिल्म कहिले छायांकनमा जाने र प्रदर्शन गरिने विषयमा खुलाउन चाहेनन् ।
‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गरेका कवि सुब्बाले निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक फिल्ममा सेटमै गएर काम गरेका कारण पनि निर्देशनमा अगाडि सरेका हुन् । लेखक भएका कारण उहाँले शब्दमा लेखिएको कथालाई दृश्यमा उतार्ने अभ्यासलाई नजिकबाट नियालेका सुब्बाले लिम्बू समुदायको कथा भन्ने निर्णयपछि आफैँ म निर्देशन गर्छु भनेका थिए ।
वैशाख २१ गतेबाट प्रदर्शन हुने फिल्म ‘मनसरा’ मा मिरुना मगर, दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारले अभिनय गरेकाछन् । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।
विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।