फिल्म । वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको मार्मिक कथालाई समेटिएको फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्म्सले शुक्रवार पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । विभोर पोखरेलद्वारा निर्देशित यो फिल्मका निर्माता गगनलाल प्रधान हुन् । प्रदीप भारद्वाजले लेखेको कथामा आधारित फिल्मको नाम कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ र मलेसियाको मुद्रा ‘रिङ्गेट’बाट प्रेरित छ ।
पोस्टरको ट्यागलाइन ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो’ ले यसको भावनात्मक गहिराइ र वैदेशिक रोजगारीका कठोर यथार्थलाई झल्काउँछ। यो ट्यागलाइन कवि नाथन रायनले लेखेका हुन् ।
पोस्टरमा एक महिला पात्रको पीडा, अपूरो आशा र शून्यताले भरिएको अनुहार देखिन्छ । बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रहरूले गरिबी र सपनाको बोझ बोकेर विदेशिएका नेपाली युवाहरूको प्रतिनिधित्व गर्छन् । पृष्ठभूमिका गगनचुम्बी भवनहरूले मलेसिया, कतार वा युएईजस्ता खाडी मुलुकहरूको सङ्केत गर्छन् ।
फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र बिमला गिरीको अभिनय छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।
गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत छ । सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वरमा अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीका शब्द छन् । यसको छायाङ्कन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौँ र लेटाङमा गरिएको छ ।