पूर्व रानी शाहले हेर्नुभयो ‘महाजात्रा’

फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका अधिकाँस शो हाउसफुल भएका छन् भने विदेशमा पनि सोही अवस्था छ । अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा’सोल्ड आउट’ भएको छ ।

फिल्म हेर्न हल पुगेका दर्शकले ‘जात्रा’ शृङखलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले पनि हेर्नुभएको छ । शुक्रबार बेलुकी काठमाडौँस्थित सिभिल मलमा हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी हुँदै उहाँले फिल्म हेर्नुभएको हो । फिल्म हेरेपछि उहाँले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिनुभयो । पूर्व रानी शाहले संक्षिप्त प्रतिक्रिया दिदै भन्नुभयो,‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्‍यो । हामी सबैले रमाइलो गर्‍यौ ।’

शुक्रबार हलमा फिल्म हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कालगायत पुगेका थिए ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

कमेन्ट गर्नुहोस्