फिल्म । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘जार’ आउँदो वैशाख २६ मा प्रदर्शन हुँदैछ । फिल्म अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गिताञ्जली थापा केन्द्रीत छ । अभिनेता मल्लले फिल्म आफ्नो लागि विशेष रहेको र आफैँले ठूलो पर्दामा हेर्न प्रतीक्षा गरिरहेको बताएका छन् ।
यस्तै, उनले फिल्ममा अर्का अभिनेता शाहीले निकै मेहनत गरेको बताएका छन् । उनले भने,‘छायांकनको समयमा हाम्रो बसाइ वल्लोअपल्लो रुम थियो । त्यहि भएर पनि मैले अनुपले गरेको मेहनत सुन्न पाएँ । उनले रातभर आफ्नो डायलगसँगै पात्रलाई जीवन्त बनाउन अभ्यास गर्थे । यसकारण यो हामी सबैका लागि खास फिल्म बनो छ ।’
सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित फिल्म ‘जार’ मा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता शाहीले बताए । उनले भने,‘मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको पात्र यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु ।’
निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार फिल्म तयार भएको जानकारी दिए । उक्त फिल्मलाई निर्माण गर्न करिब चार वर्ष लागेको निर्देशक लामाले बताए ।











