फिल्म । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘जलाकी’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमका अनुसार गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा फिल्मको छायांकन सकिएको हो ।
शनिबार पोखरामा गीतको दृश्य छायांकन गरिएको थियो, जसमा फिल्मका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ । छायांकन सम्पन्न भएसँगै पोस्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले जानकारी दिए । निर्माण टिमले केही दिनभित्रै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी रहेकी छन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रो पटक सहकार्य गरेकी हुन् । ‘खुस्मा’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कारसमेत जितेकी थिइन् । ‘जलाकी’लाई लिएर पनि उपासना निकै उत्साहित देखिएकी छन् ।
फिल्ममा उपासनासँगै सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर र राज काउचा मगरको अभिनय रहेको छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई र रिन्ची धनाहा मगर रहेका छन् । यस फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गरेकी हुन् ।
‘जलाकी’ मगर समुदायको आस्थाको प्रतीकका रूपमा मानिने ढुंगाले चिनिएको स्तम्भलाई बुझाउने शब्द हो । कसैको सम्झना र मायाको प्रतीकका रूपमा जलाकी बनाउने गरिन्छ । सोही विषयवस्तुमा आधारित भएर फिल्म निर्माण गरिएको हो । फिल्मको छायांकन तीन चरणमा गरिएको निर्माण पक्षले जनाएको छ । रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ र पोखराका विभिन्न भू–भागमा छायांकन गरिएको फिल्मले मगर र गुरुङ समुदायको संस्कृति झल्काउने बताइएको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्मको डीओपीमा शैलेन्द्र डी. कार्की, लाइन प्रोड्युसरमा राजु रेग्मी मगर तथा मुख्य सहायक निर्देशकमा महेश बराल रहेका छन् । फिल्ममा एसडी योगी र सरित राईको संगीत तथा सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्टको गीतरचना रहेको छ ।












