‘टिका’ यसै सातादेखि फ्लोरमा

फिल्म । ‘टिका’ को शुभमुहूर्त सम्पन्न भएको छ । भविष्य फिल्मस् प्राली र थर्ड आइ आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुभमुहूर्त पाटनस्थित बगलामुखी मन्दिरमा बिहीबार सम्पन्न भएको हो । विशेष कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरिएको थियो । तीजको अवसर पारेर आगामी भदौ २६ गते प्रदर्शन मिति तय गरिएको फिल्म यसै सातादेखि फ्लोरमा जाने निर्माण पक्षले जनाएको छ ।

कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद भोग्न बाध्य महिलाको गम्भीर कथामा फिल्म निर्माण हुन लागेको बताइन् । ‘जेरी अन टप’ की निर्माता समेत रहेकी खड्काले उक्त फिल्मबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले ‘टिका’ निर्माणमा प्रेरणा दिएको उल्लेख गरिन् । उनी आगामी दशैंमा प्रदर्शन हुने ‘बाटुलो जुन’ की पनि निर्माता हुन् ।

शंकर कार्कीको निर्देशनमा बन्ने ‘टिका’लाई निर्माण टिमले महिला प्रधान फिल्मको रूपमा प्रस्तुत गरेको छ । फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकालको मुख्य अभिनय रहनेछ । फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसी हुन् ।

पारिवारिक समस्याका कारण निर्देशक शंकर कार्की शुभमुहूर्त कार्यक्रममा उपस्थित हुन सकेनन् । फिल्मको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा विश्वास तिम्सिनाको रहेको छ । फिल्ममा कालीप्रसाद बास्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ भने नरेन्द्र मैनाली सिनेमाटोग्राफर रहेका छन् ।

कार्यक्रममा कलाकारहरूले फिल्मको विषयवस्तु, टिमको ऊर्जा तथा आफ्नो भूमिकाबारे धारणा राखेका थिए । अभिनेत्री प्रियंका कार्कीले ‘टिका’ आफ्नो करियरकै विशेष फिल्ममध्ये एक रहने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘मेरो जीवनका लागि यो फिल्म, यो यात्रा र मेरो पात्र सबै विशेष छन् । जुन विषयवस्तुमा कथा तयार गरेर फिल्म निर्माण हुँदैछ, त्यो सायद अहिलेसम्म नेपाली फिल्ममा प्रस्तुत गरिएको छैन । म निकै उत्साहित छु ।’

अभिनेत्री वर्षा सिवाकोटीले निर्माता भविष्य खड्का तथा सहकर्मी प्रियंका कार्की र महेश त्रिपाठीसँगको सहकार्य सौहार्दपूर्ण र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्